क्लिन्टनले म्यानमारका राष्ट्रपति भेट्ने
नोम्पेन्ह, २८ असार– अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले म्यानमारका राष्ट्रपति थाँ सेनसँग बिहीबार क्याम्बोडियामा भेट्ने भएकी छन् । उनीहरूका बीचमा क्याम्बोडियाको पर्यटकीय सहर सिमरिपमा भेटघाट हुने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले जनाएका छन् । म्यानमारमा विगतदेखि लगाइँदै आएको आर्थिक एवम् अन्य नाकाबन्दी हटाउने बारेमा उनीहरूबीच कुराकानी हुने पनि अधिकारीले जनाएका छन् । क्याम्बोडियामा जारी रहेको वाणिज्य सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका उनीहरूबीच सो भेटवार्ता हुन लागेको हो । बुधबार मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले विज्ञप्ति प्रकाशन गरी म्यानमारका राष्ट्रपति, प्रजातन्त्रवादी नेत्री आङ सान सुकी र त्यहाँका जनताले म्यानमारमा प्रजातन्त्रको स्थापनाका लागि महत्वपूर्ण पहलहरूलाई अघि सारेको बताएका थिए । विदेशमन्त्री क्लिन्टनले गएको डिसेम्बर महिनामा म्यानमारको ऐतिहासिक भ्रमण गरेकी थिइन् । उनले पनि हालैका केही महिनायता म्यानमारले राजनीतिक सुधारका कामहरू जारी राखेको प्रतिक्रिया दिएकी छिन् । यसैबीच, म्यानमारका राष्ट्रपति सेनले पनि अमेरिकासहित विश्वका अरू सबै राष्ट्रहरूलाई म्यानमारमाथि लगाइएको नाकाबन्दी हटाउन माग गरेका छन् । बेलायतको फिनान्सियल टाइम्स नामको पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्– ‘हामीमाथिका आर्थिक एवम् अन्य वित्तीय नाकाबन्दीहरूलाई हटाउन र सहज बनाउन म विश्वका सबै राष्ट्रसँग आग्रह गर्दछु ।’ यसैक्रममा केही दिन अघिमात्र अमेरिकाले म्यानमारमा २२ वर्षपछि पहिलो पटक राजदूतावास खोली बुधबार राजदूत पनि पठाएको छ । राजनीतिक सुधारकै क्रममा म्यानमारले कैयौं राजबन्दी पनि रिहा गरिसकेको छ । यो कार्यपछि अमेरिकाले पनि म्यानमारको यो कदमको समर्थन गरेको थियो । सैनिक समर्थनको वर्तमान सरकारले राजनीतिक सुधारको एजेण्डा अघि सार्दै एकपछि अर्काे गरी नाटकीय सुधारका कामहरू गरेको जनाएको छ । सन् १९९१ मा म्यानमारमा भएको आम निर्वाचनमा त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले दुई तिहाई बहुमत ल्याएको थियो । तर पनि उनलाई सरकार गठन गर्न नदिई देशमा सैनिक शासन सुरु गरेपछि विश्वका कैयौं राष्ट्रले म्यानमारसँग कूटनीतिक सम्बन्ध तोडेका थिए । तर सैनिक सहयोगको सरकारका हालैका केही राजनीतिक सुधारका कारण म्यानमारमा प्रजातन्त्रको स्थापना हुनेमा म्यानमारका नागरिक आश्वस्त भएको बताइन्छ । रासस÷एएफपी