ओबामाद्वारा सिरियाली राष्ट्रपतिलाई चेतावनी
दमास्कस, ९ साउन– सिरियाली राष्ट्रपति बसार अल असादले त्यहाँका आन्दोलनकारीमाथि रसायनसहितका घातक हतियारको प्रयोग गर्न लागेको भन्दै त्यसप्रति अमेरिकाले व्यापक विरोध गरेको छ ।
आन्दोलनकारीहरूको माग दबाउनका लागि सिरियाली सरकारले व्यापक मात्रामा बल प्रयोग गर्ने क्रममा त्यहाँको सरकारले घातक हतियारको प्रयोग गर्न लागेको समाचार आन्दोलनकारीहरूले दिएपछि अमेरिकाले विरोध जनाएको हो । सिरियाली अधिकारीहरूले पनि आफूहरूसँग यस्ता हतियारहरूको निकै ठूलो भण्डारण रहेको भन्दै यदि दमास्कसमा बाह्यशक्तिले हमला गरेमा आक्रमण गरिने जनाएका थिए ।
तरपनि पछिल्ला केही समयमा सुरक्षाअधिकारीहरूले यस्ता घातक हतियारको प्रयोग गरिएको गुनासो आन्दोलनकारीहरूले पनि विश्व समुदायलाई यसअघिदेखि नै दिँदै आएका छन् । यो समाचारपछि विश्व समुदायले पनि आफूहरूको ध्यानाकर्षण भएको भन्दै यसो गरेमा त्यो विश्व समुदायका लागि स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि यसको विरोध गर्दै यदि सिरिया सरकारले त्यसो गरेमा यो उसको गम्भीर भूल हुने प्रतिक्रिया दिएका छन् । त्यस्ता घातक खालका हतियार आफ्नो नागरिकको हत्या गर्ने काममा कुनैपनि हालतमा प्रयोग नगर्न राष्ट्रपित ओबामाले सिरियाली राष्ट्रपतिलाई नै चुनौति दिएका हुन् । उनले भने– ‘यस्तो वियोग ननिम्त्याउनु र यदि जवर्जस्त यस्ता कानुन विरोधी काम गर्ने हो भने यसलाई विश्व समुदायले पनि हेरिरहेको छ भन्ने हेक्का पनि राख्नु ।’
सिरियाका विभिन्न भागमा आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीबीचका झडपहरू जारी नै रहेका छन् । सोमबारदेखि सिरियाको अलेप्पो सहरमा जारी रहेको सो आन्दोलनका क्रममा कम्तीमा पनि ५२ आन्दोलनकारीको ज्यान गएको छ । सोमबार मात्र दमास्कसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सिरियाली विदेश मन्त्री जिहाद माक्दिसीले सिरियासँग यस्ता खतरनाक हतियारहरू रहेको भन्दै उसमाथि आक्रमण भयो भने प्रयोगमा ल्याइने चतावनी दिएका थिए । सोमबार मात्र दोहामा भएको अरब लिगका विदेश मन्त्रीको वार्तापछि संयुक्त रूपमा विज्ञप्ति जारीगरी अरब राष्ट्रहरूले राष्ट्रपति असादलाई सत्तात्याग्न आग्रह गरेका थिए । त्यसैगरी विश्व समुदायले पनि उनलाई जतिसक्यो चाँडो सत्ता त्याग्न र शान्तिपूर्णरूपमा समस्याको समाधानका लागि आग्रह गरिरहेका छन् । तर उनी भने सत्ता त्याग्ने मानसिकतामा हुनुहुन्न ।
सिरियाका विगत करिब १७ महिनादेखि जारी रहेको आन्दोलनका क्रममा कम्तीमा पनि १९ हजार नागरिकको ज्यान गएको बताइएको छ । त्यसमा सरकारी सुरक्षाकर्मी पनि ठूलो संख्यामा मारिएका छन् । सिरियामा जारी आन्दोलनको पर्यवेक्षण गरिरहेको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सार्वजनिक गरेको तथ्याङ्कअनुसार राष्ट्रपति बसार अल असाद विरुद्ध जारी सो आन्दोलनका क्रममा १९ हजारको ज्यान गएको हो ।
सन् २०११ को मार्च महिनादेखि जारी रहेको सो आन्दोलनका क्रममा १९ हजार १०६ जनाको ज्यान गएको अधिकारवादीहरूद्वारा हालैमात्र सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ । सिरियामा सरकारी सेनाले व्यापक मात्रामा कारबाही जारी राखेको पनि समाचारमा जनाइएको छ ।
त्यहाँ अहिले पनि दिनहूँ नागरिकको हताहति हुने गरेको छ । सिरियाका लागि अन्तर्राष्ट्रिय दूत कोफी अन्नानको सिफारिशमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा विशेष प्रस्ताव लैजाने चर्चा चलिरहेको बेला सिरियाली अधिकारीहरूले पनि विदेशी सेना सिरियामा भिœयाइएमा घातक हतियारको प्रयोग गरिने चेतावानी दिएका हुन् । रासस÷एएफपी