सिरियामा रातभर बमबारी

बेरुत, १० साउन– सिरियाको दोस्रो ठूलो सहर अलेप्पोमा मंगलबार राति सरकारी सेनाले बमबारी र आक्रमण गरेको त्यहाँबाट मानवअधिकारवादीहरूले जनाएका छन् । सो सहरमा आन्दोलनकारीहरू रहेको आशङ्कामा सरकारी सेनाले नै विभिन्न शक्तिशाली हतियारबाट आक्रमण रातभर जारी नै राखेको बताइएको छ । सो आक्रमणबाट भएको हताहतिको विवरण आइनसकेको भए पनि त्यसबाट ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ ।
सो क्षेत्रमा अधिकारीहरूले पत्रकार र अधिकारवादीहरूलाई जान प्रतिबन्ध लगाएका छन् । बुधबार बिहान पनि सो क्षेत्रमा आक्रमण जारी नै रहेको र यसबाट कालो मुस्लोहरू निस्किएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ती आक्रमणमा सरकारी सेनाले घातक हतियारको प्रयोग गरेको बताएका छन् । तर अधिकारवादीहरूले सो आशङ्काको पुष्टि हुनभने बाँकी नै रहेको बताएका छन् । मंगलबारमात्र पनि यस्ता हतियारको प्रयोग नगर्न अमेरिकी राष्ट्रपति बाराक ओबामासहित विश्वका नेताहरूले सिरियाली राष्ट्रपति बसार अल असादलाई चेतावानी दिएका थिए । सिरियाका विगत करिब १७ महिनादेखि जारी रहेको आन्दोलनका क्रममा कम्तीमा पनि १९ हजार नागरिकको ज्यान गएको बताइएको छ । त्यसमा सरकारी सुरक्षाकर्मी पनि ठूलो सङ्ख्यामा मारिएका छन् । सिरियामा जारी आन्दोलनको पर्यवेक्षण गरिरहेको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सार्वजनिक गरेको तथ्याङ्कअनुसार राष्ट्रपति बसार अल असाद विरुद्ध जारी सो आन्दोलनका क्रममा १९ हजारको ज्यान गएको हो । सन् २०११ को मार्च महिनादेखि जारी रहेको सो आन्दोलनका क्रममा १९ हजार १०६ जनाको ज्यान गएको अधिकारवादीहरूद्वारा हालैमात्र सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ । सिरियामा सरकारी सेनाले व्यापक मात्रामा कारबाही जारी राखेको पनि समाचारमा जनाइएको छ । त्यहाँ अहिले पनि दिनहुँ नागरिकको हताहति हुने गरेको छ ।
सिरियाली अधिकारीहरूले विदेशी सेना सिरियामा भित्र्याइएमा घातक हतियारको प्रयोग गरिने चेतावानी मंगलबारमात्र दिएका थिए । सो चेतावानीपछि गएरातिदेखि नै सिरियामा आक्रमण जारी राखेकोले ती आक्रमणहरूमा घातक हतियारको प्रयोग पनि गरिएको हुनसक्ने आशङ्का गरिएको छ । रासस÷एएफपी

Leave a Reply

test